११ कात्तिक, बेनीबजार – म्याग्दीका तीन श्रष्टा सम्मानित भएका छन । हालै रत्नेचौरको अर्जममा आयोजित कार्यक्रममा तीनजना श्रष्टालाई सम्मान गरिएको हो।
स्थानीय एकता अर्जम सांस्कृतिक समूहले विजयादशमीको अवसरमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा म्याग्दीका अग्रज कलाकार वीरबहादुर कार्की, लोकगायिका धनकुमारी थापा र साहित्यकार ध्रुबलाल शर्मालाई सम्मान गरिएको हो।
कार्यक्रममा श्रष्टाहरूलाई समूहका अध्यक्ष खकेन्द्र थापा, समाजसेवी ईन्द्र थापाले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।
जिल्लाको कलाकारिता, लोक संस्कृति र लोकसाहित्यको विकासमा अतुलनीय योगदान पुर्याएबापत उहाँहरूलाई सम्मान गरिएको एकता अर्जम सांस्कृतिक समूहका अध्यक्ष खकेन्द्र थापाले बताउनुभयो।
रत्नेचौर घर भएका बीबहादुर कार्की पश्चिम दरबाङमा रहेर लामो समय स्थानिय माविमा प्रधानाध्यापककारुपमा सेवारत रहनुका साथै जिल्लाका सुदुरबस्तीहरुका लोकभाकाको जगेर्ना गर्ने काममा महत्वपूर्ण योगदान पुर्याएका थिए । स्थानिय मेला, जात्रामात्राहरुमा बिद्यालयको तर्फबाट साँगीतिक कार्यक्रमको माध्यमबाट मौलिक लोक सँस्कृतिको संरक्षण एवं संबर्द्धन गर्ने सवालमा कार्कीको भूमिका अतुलनीय मानिन्छ ।
यसैगरी चिमखोलाकी गायिका धनकुमारी थापा स्थानिय बिद्यालयको शिक्षिकाकारुपमा रहेर लोकदोहोरीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने जिल्लाले सम्झनै पर्ने एउटा नाम हो । गायिका थापाले राष्ट्रियस्तरका धेरै प्रतियोगिताहरुमा लोकदोहोरीमा उत्कृष्ट स्थान हासिल गरेर जिल्लाको नाम उच्च बनाउने काम गर्दै आएकी छिन् ।
यसैगरी साहित्यकार ध्रुबलाल शर्मा जिल्लाका सशक्त साहित्यकार मानिन्छन् । लोकसाहित्यको बिकासमा अतुलनीय योगदान पुर्याएबापत शर्मा सम्मानित भएका हुन ।
You Might Also Like :






